in the news

We the children of the city:

शहरका हामी केटाकेटी

games kida

स्कूल छुट्टी छ तर, रमाउने ठाउँ पाएको छैन । नजिकमा पार्क, खुला मैदान, पुस्तकालय छैनन् । थिएटर त छन् तर त्यहाँ बच्चाका लागि नाटक खासै हुँदैनन् । बाआमा कामकाजी भएकाले ऊसित डुलिहिंड्ने समय पनि हुँदैन । उसको उमेर सुहाउँदो साथी घरमा कोही छैन ।

Author

Bimal Acharya: 

onlinekhabar

Originally posted in Onlinekhabar.com

Original Article: Onlinekhabar

Original Article: शहरका हामी केटाकेटी
onlinekhabar

शहरमा नमीठो गन्ध छ । नाक–मुख हाम्रो बन्द छ । छोरो र म हिजो साँझ यस्तैमा यस्तै यस्तै कुरा गर्दै थियौं । कुरैकुरामा बाबुलाई मैले केही प्रश्न सोधें । घर, शहर, स्कूल, देश कस्तो लाग्छ तिमीलाई भनेर सोधें । उसले आफ्नै पाराले भन्दै गयो ।

स्कूल छुट्टी छ, उसको । तर, रमाउने ठाउँ पाएको छैन । नजिकमा पार्क, खुला मैदान, पुस्तकालय, पुस्तक पसल, संगीतालय छैनन् । थिएटर त छन् तर त्यहाँ बच्चाका लागि नाटक खासै हुँदैनन् । हामी बाआमा कामकाजी भएकाले ऊसित डुलिहिंड्ने समय पनि खासै हुँदैन । हामी जेठो, माइलो, साहिंलो शब्द/सम्बोधन सुन्दै हुर्कियौं । यी शब्द लोप भएर गए अब । उसको उमेर सुहाउँदो साथी घरमा कोही छैन ।

मान्छे नभए पनि घरमा बाख्रा, पाठा, बाच्छी, गौंथली, कुखुरा, ढुकुर, भँगेरा हाम्रा शैशवकालका साथी हुन्थे । कमिलाको ताँती देख्नु, भँगेरा र भँगेरीको कुरा सुन्नु, जूनकिरीको ज्योतिर्मय नाच देख्नु, तारा गन्नु, खोलामा पौडी खेल्नु, बतासको स्पर्शले स्फूर्ति जगाउनु अब यी लोकमा छन्, लोकमा छैनन् । सफा पानी बगिरहेको खोला चित्रमा मात्र छ । हरियो घना जंगल अब शहरमा छैन ।

म आफू उसको उमेरमा टाढाटाढा गाउँ, मेलापात, जंगल, खोला, घट्ट एक्लै एक्लै हिंड्थें । तर, हामी उसलाई दुई पाइला पर पनि एक्लै जान दिंदैनौं । मान्छेको डर छ । आन्दोलनको डर छ । सवारीको डर छ । खाल्डाखुल्डीको डर छ । तारबारको डर छ । भीडभाडको डर छ । बाटो काट्नुको त्रास छ । र, सबैभन्दा ठूलो डर हाम्रो मनमा छ । जसलाई हामी मायाको गाता लगाउँछौं ।

मैले उसलाई कुरा कोट्याउँदै गएँ । उसले आफ्नो कुरा भन्दै गयो । अनि मैले उसलाई धेरै मन पर्ने गीत ‘लेकका हामी केटाकेटी’ जस्तै बनाएर एउटा गीत जस्तो केही बनाइदिएँ । गीतका शब्द मेरा हुन् तर भाव उसको हो । भोगाइ उसको हो । भनाइ उसकै हो । अनि त्यसलाई गीतमा ढालेर मैले केही भनें । उसले लेख्दै गयो । लेख्दालेख्दै थाकेपछि अलिकति मैले लेखिदिएँ ।

मैले ‘खै हामीलाई सडकपेटी’ लेखेकोमा उसले ‘खै हिंड्ने सडकपेटी’ बनाऔं भन्यो । मैले मानें । मैले ‘हावा कुरा कति गर्ने’ भनेर लेखेकोमा उसले ‘बकवास कुरा कति गर्ने’ लेखौं भन्यो । यो चाहिं मैले मानिनँ । मैले ‘सास विना’ लेखेको ठाउँमा उसले ‘अक्सिजन विना’ लेखौं भन्यो । झ्याउँकिरी, मुस्लो भनेको के हो भनेर सोध्यो ।

उसले यो गीत गाउने रहर गर्‍यो । आमाको मोबाइल फोनमा ‘लेकका हामी केटाकेटी’ को ट्रयाक बजाएर बीचबीचमा यी शब्द गायो । मैले मेरो मोबाइलबाट उसको भिडिओ खिचिदिएँ । आफैंलाई सुनेर ऊ मख्ख पर्‍यो । मैले पनि उसलाई हौस्याएँ । हाम्रो परिवारको मेसेन्जर ग्रुपमा भिडिओ पठायो ।

‘यो गीत पहिला कतै पब्लिस गर्नुस्’ भनेपछि मैले उसले भनेको मानें । ‘रचनाकारमा तिम्रो पनि नाम लेख्ने कि’ भनेर सोधें । उसले ‘हैन, मेरो नाम गायकमा राख्नुस्’ भन्यो ।

जीवन क्षेत्रीले आफ्नो पुस्तक ‘नुन–तेल : विगततिर पदयात्रा’ मा लेखेका छन्— ‘पुर्खाले हाम्रो अस्तित्व सम्भव बनाए तर हामी हाम्रा सन्ततिहरूको अस्तित्व असम्भव बनाउँदै छौं ।’
के यस्तै नै हौं त हामी ?

‘लेकका हामी केटाकेटी’ को शब्द रचना गर्ने आभास र संगीत रचना गर्ने रामेश तथा गाउने ती भाइबहिनीहरूमा यो गीत समर्पित । पृथ्वी, प्रकाश, आकाश, जल, वायु, ध्वनि सबै प्रदूषित बनाउने आफू र आफूहरूमा समर्पित ।

०००

शहरका हामी केटाकेटी
खै हिंड्नलाई सडकपेटी

खोलाको कलकल थाहा छैन
ताराको झलमल देख्या छैन
चराको चिरबिर सुन्या छैन
हावाको सिरसिर थाहा छैन
शहरका हामी केटाकेटी…

झ्याउँकिरीको गीत सुन्या छैन
जूनकिरीको नाच देख्या छैन
धुलो र मुस्लोको गन्ध छ
नाक–मुख मेरो बन्द छ
शहरका हामी केटाकेटी…

मास्कले अनुहार छोप्नु छ
न त कोही हाँसेको देख्नु छ
ज्ञानभूमि गाउँछु, ज्ञान छैन
शान्तिको क्षेत्र रे, ध्यान छैन
शहरका हामी केटाकेटी…

घरमा मेरो आँगन छैन
स्कूलमा मेरो मैदान छैन
डुल्नलाई कतै छैन उद्यान
पिंजडाको संसार, भो हैरान
शहरका हामी केटाकेटी…

वरपर छैनन् कतै रूख
सास विनै दिन्छौ कस्तो सुख ?
स्वच्छ पृथ्वी, रहर भो
प्रदूषणमा पहिलो, शहर भो
शहरका हामी केटाकेटी…

हावा कुरा अब कति गर्ने
हावा देऊ मलाई फेर्न मिल्ने
जल देऊ मलाई पिउन मिल्ने
माटो देऊ मलाई जिउन मिल्ने
आकाश देऊ मलाई हेर्न मिल्ने
शहरका हामी केटाकेटी…

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *